हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने कान्ति राजमार्ग तथा भैंसे भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा रातको समयमा सवारीसाध आवागमनमा पूर्ण रोक लगाएको छ।
बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका ७ बजेदेखि ती सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइनेछ।
यसैगरी भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जाने सडकखण्डमा हेटौँडास्थित चौकीटोलबाट काठमाडौँतर्फ तथा फाखेलस्थित हुमाने र सिस्नेरीस्थित रामचन्द्र भञ्ज्याङबाट हेटौँडातर्फ बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइनेछ।
मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ।
भारी वर्षाका कारण सडक तथा राजमार्गमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि रातको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
जारी सूचना मार्फत कार्यालयले असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म तोकिएको समयअनुसार मात्रै सवारी साधन सञ्चालन गर्न तथा यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।




