काठमाडौँ। आईतबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ मा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका तथा घाईते हुनेहरुको पहिचान खुलेको छ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका ४ का सुन्दर खड्का र सानीभेरी ६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लु १ च ६०२९ नम्वरको डबल क्याप बोलेरो जीप सानीभेरी गाउँपालिका वडा नम्वर ६ को कोटगाउँबाट सिम्लीतर्फ जाँदै थियो। सो क्रममा वडा नम्वर ६ को कार्यालय नजिकै दुली सिम्ली जोड्ने भित्रि सडकखण्डमा जीप दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृतकहरुको शव जिल्ला अस्पताल सल्ले लगिएको छ।
जीपमा चालकसहित १५ जना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जीपमा सवार मध्य चार जनाको अवस्था गम्भिर रहेको तथा अन्य सात जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ। एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
घाईते मध्य सानीभेरी गाउँपालिका ६ निवासी गाडीधनि ३८ वर्षीय बलबहादुर पुन, सोही ठाउँमा १५ वर्षीय पूर्णबहादुर जैसी, ५० वर्षीया कौशिला पुन मगर र १५ वर्षीया खिमला पुनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।
त्यसैगरी सोहि स्थानका २० वर्षीया अन्जना पुन, ५० वर्षीया बिर्मी खत्री, १५ वर्षीया बिबिशा पुन मगर, १५ वर्षीय बिशाल बिक, ९ बर्षिय शिशिर पुन, २० वर्षीय रिता पुन मगर, जाजरकोटको शिवालय गाउँपालिका निवासी १७ वर्षीया ज्ञानु पुन मगरलाई उपचारको लागि चौरजहारी अस्पतालमा लगिएको छ। यी घाईतेहरु मध्य अन्जना, बिशाल र ज्ञानुको अवस्था गम्भिर छ।
जीपमा सवार सानीभेरी गाउँपालिका ६ का १० वर्षीय रमेश कुसारीको भने अवस्था सामान्य रहेको छ। उनको सानीेभेरी गाउँपालिका अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको हो। सोही स्थानका नविन देवकोटालाई भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
जीपमा क्षमता भन्दा बढी यात्रु रहेको र अप्ठ्यारो मोडको कारण दुर्घटना भएको अनुमान गरेको छ। घटनाको अनुसन्धान जारी छ।



