काठमाडौँ। काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ।
काठमाडौँ महानगरपालिकाले नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको हो। उनीहरूलाई पुस्तक र दिवा खाजासमेत उपलब्ध गराइएको छ। महानगरका अनुसार पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भएका थिए।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उनीहरुको मनमा पुगेको गहिरो चोट कम गराउन आवश्यक रहेको बताइन्। उनी आफैँ विद्यालयमा पुगेर ती बालबालिकाको आवश्यकता र उपलब्धता बुझ्न लागिपरेकी छिन्।उनले बालबालिकालाई विद्यालय आउनसमेत प्रोत्साहित गरेकी छिन्।
बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुसँग कुरा गर्दै उनले भनिन्, ‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई विर्सन सघाउनु।’ किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू।’
विद्यार्थीहरुलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा विभागका अधिकारीहरु विद्यालय गएर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरेका थिए।
यसरी विद्यालय आउने विद्यार्थीमध्ये केहीका बुबा आमा दुवै छैनन्। केहीका बुबा वा आमामध्ये एकजना छैनन् भने कोही परिवारसँगै छन् तर, घर र बसोबास स्थल छैन।
यसरी विद्यालय जाने विद्यार्थीहरुका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्था गरिदिएको छ। यस्तै मनोसामाजिक परामर्श प्रदान गरेको छ। आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआइ स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशिल सुवेदीले जानकारी दिए।
दोस्रो दिन ६१ जना विद्यार्थी विद्यालय आएका छन्। विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ भन्छन्, ‘विद्यालय आउने कुरालाई स्वतः स्वीकार गर्ने विद्यार्थी आउनुभएको हो। गहिरो चिन्तामा परेका विद्यार्थीहरुलाई बल गराएर आउनै पर्छ भन्ने गरिएको छैन। परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास छ। विद्यालय आउने विद्यार्थीको संख्या बढ्दो छ।’
सुवेदीका इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा छन्। उनीहरुमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन्। इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २–२ जना छन् भने नर्सरी, युकेजी र कक्षा १२ मा अध्ययरत १–१ जना छन्।
यसैगरी कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना अध्ययनका लागि आएका छन्। कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेको महानगरपालिकाले जनाएको छ।



