मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काभ्रे जिल्लालाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने, १३ वटै स्थानीय तहका प्रमुखले गरे प्रतिबद्धता

काभ्रे जिल्लालाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने, १३ वटै स्थानीय तहका प्रमुखले गरे प्रतिबद्धता

images
२०८३ भाद्र ८ गते, सोमवार
२०८३ भाद्र ८ गते, सोमवार
  • काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाउने सन्दर्भमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन्।

    images

    स्थानीय तहका प्रमुखहरुले प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने विषयमा प्रतिबद्धता जनाइएका हुन्। सो विषयमा संवाद तथा नीतिगत छलफल आयोजना गरिएको थियो।

    images

    छलफलमा स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले काभ्रेमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गरेके थिइन्। सो क्रममा उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको बताइन्।

    २०७९ भदौ १७ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको छ।

    स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ भने जिल्लाका करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन्।

    जिल्लामा सुरु गरिएको यस नमूना कार्यक्रम नेपालमै पहिलो भएको र त्यसको अनुभवका आधारमा हाल पर्सा, बारा, कैलाली र इलाममा पनि विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। आगामी दिनमा यस्ता कार्यक्रम क्रमशः अन्य जिल्लामा विस्तार गर्ने तयारी रहेको विभागले जनाएको छ।

    एक तथ्याङ्कअनुसार प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेका छन्।

    कार्यक्रममार्फत दक्ष स्वास्थ्यकर्मीमा आधारित सेवा, प्रोटोकलअनुसार उपचार, प्रभावकारी बिरामी प्रेषण प्रणाली, बिरामीको ट्र्याकिङ तथा फलोअप, औषधिको नियमितता र आपूर्ति सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

    विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा. ग्याम्पो दोर्जीले काभ्रेको अनुभव अन्य जिल्लाका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै बिरामीको नियमित रेखदेख तथा औषधिको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

    बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले काभ्रेको सिकाइ देशभर नमूना हुने बताउँदै यसले स्वास्थ्य सेवालाई भरपर्दो बनाउने तर्फ सहयोग पुग्ने बताइन्।

    छलफलमा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले स्वास्थ्यकर्मीको नियमित सेवा र आफूहरूको नियमित औषधि सेवनले नयाँ जीवन पाएको सुनाए। उनीहरूले उच्च रक्तचापसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामूलक प्रचार–प्रसार अघि बढाउनसमेत सुझाए।

    ‘गोलमेच नीतिगत संवाद’ नामकरण गरिएको कार्यक्रममार्फत नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको छ। सो प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राखिने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै सेवा विस्तार गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै तहबीच समन्वय र सहकार्य सुदृढ गर्ने उल्लेख छ। 

    यसका साथै दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने, काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणामका आधारमा जवाफदेहिता कायम गर्ने, राष्ट्रिय स्वास्थ्य प्रणाली रुपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने अनि जिल्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सिकाइ तथा नमूना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रतिबद्धतापत्रमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन्।

    यस कार्यक्रमलाई विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, काभ्रेका १३ वटा स्थानीय तह र जिल्लास्थित जनस्वास्थ्य कार्यालयले स्वामित्व ग्रहण गरेका छन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend