वीरगन्ज। वीरगन्जको नारायणी अस्पतालमा ३५ जना एम्बुलेन्स चालकलाई प्राथमिक जीवन रक्षा तालिमदिइएको छ।
पर्सा जिल्लाका प्रथम उद्धारकर्ताको रूपमा कार्यरत ३५ जना एम्बुलेन्स चालकहरूलाई लक्षित गरी नारायणी अस्पतालमा प्राथमिक जीवन रक्षा अर्थात् ‘बेसिक लाइफ सपोर्ट’ (BLS) तालिम सञ्चालन गरिएको हो।
जीटीए फाउन्डेसनको सहकार्यमा उक्त तालिम आयोजना गरिएको अस्पताए जनाएको छ।
आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त तालिमका क्रममा सहभागीहरूको पूर्व-मूल्याङ्कन, व्यावहारिक अभ्यास तथा दक्षता परीक्षण गरी बहुआयामिक विधिबाट क्षमता अभिवृद्धि गरिएको थियो।
कार्यक्रममा चालकहरूलाई मुटुको धड्कन वा सास रोकिँदा गरिने सिपिएर (CPR), श्वासप्रश्वास प्रणाली सहज बनाउने तरिका तथा अस्पताल पुर्याउनु अघि बिरामी वा घाइतेको अवस्था स्थिर राख्ने व्यावहारिक सिप प्रदान गरिएको थियो।
तालिम पश्चात सहभागी चालकहरूले अबका दिनमा दुर्घटना वा आकस्मिक अवस्थामा परेका बिरामीलाई अस्पताल पुर्याउने क्रममा थप कुशलताका साथ जीवनरक्षक सेवा दिन सक्ने विश्वास व्यक्त गरिएको छ।





