काठमाडौँ। तारकेश्वर नगरपालिका र परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल, थापाथली बीच आर्थिक वर्ष २०८३/८४ मा प्रसुती तथा स्त्री रोगको बहिरंग सेवा संचालन गर्ने सहमति भएको छ।
सो सम्बन्धि मंगलबार सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र अस्पतालका तर्फबाट निर्देशक डा. श्रीप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका प्रसुती तथा स्त्री रोग बिशेषज्ञद्वारा हरेक महिनाको दोश्रो बुधबार साङला प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती तथा स्त्री रोग बहिरंग सेवा संचालन गरिनेछ। उक्त सेवा भाद्र महिनाबाट संचालनमा आउने छ।
यसैगरी सोही सेवासँगै थप अल्ट्रासाउण्ड सेवा सहितको बहिरंग सेवा हरेक महिनाको अन्तिम बुधबार मनमैजु स्वास्थ्य चौकीबाटसमेत संचालन गरिनेछ।
यो सेवाको उद्देश्य नगर भित्र विशेषज्ञ सेवा संचालन गरि आफ्नै घरदैलोमा विशिष्टिकृत सेवा प्रदान गर्दै महिला प्रसुती तथा स्त्री रोगको उपचार सरल गर्ने र नगरस्थित मातृ तथा शिशु अशक्तता र मृत्युदर कम गर्नु रहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रमम तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत, नर्सिंग फोकल पर्सन र परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक, उपनिर्देशक, विभागीय प्रमुख र सूचना अधिकारीहरु सहभागी थिए।
नगरपालिकाले नगरबासी महिला दिदीबहिनीहरुलाई यो सेवाको लाभ लिनुहुन अनुरोध गरेको छ। साथै सेवा प्रदान गर्न सहजीकरण गर्ने परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल थापाथलीलाई नगरपालिकाले आभार ब्यक्त गरेको छ।



