मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ललितपुर महानगरमा घरमै चिकित्सकसहितको स्वास्थ्य सेवा, फोन आएको १५ मिनेटभित्रै पुग्छ एम्बुलेन्स

ललितपुर महानगरमा घरमै चिकित्सकसहितको स्वास्थ्य सेवा, फोन आएको १५ मिनेटभित्रै पुग्छ एम्बुलेन्स

images
२०८३ भाद्र १ गते, सोमवार
२०८३ भाद्र १ गते, सोमवार
  • ललितपुर। ललितपुर महानगरपालिकाले आपत्कालीन अवस्थाका बिरामीलाई अस्पताल पुर्‍याउनुअघि नै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सोमबार यो सेवाको शुभारम्भ गरेका हुन्।

    images

    महानगरपालिकाकाअनुसार अब ११३१ नम्बरमा फोन गरेपछि आवश्यकताअनुसार स्वास्थ्यकर्मी औषधिसहित बिरामीको घरमै पुग्नेछन्। यसरी स्वास्थ्यकर्मी घरमै पुगेपछि उनीहरूले बिरामीलाई तत्काल उपचार सुरु गरि आवश्यक औषधि उपलब्ध गराउने छन्।

    घरमै चेकजाँचपछि थप उपचार आवश्यक पर्ने अवस्था देखिएमा चिकित्सकसहितको एम्बुलेन्समार्फत बिरामीलाई तत्काल बिरामीले रोजेकै अस्पताल पुर्‍याइनेछ।

    कार्यक्रममा धारणा राख्दै मन्त्री मेहताले घरमा उपचार पश्चात् बिरामीलाई अस्पताल लैजानु पर्ने अवस्थामा स्वास्थ्य मन्त्रालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाइन्।

    महानगर प्रमुख महर्जनले आफुले फिलिपिन्स भ्रमणका क्रममा माकाती सहरमा यस्तो सेवा देखेपछि ललितपुरमा पनि सुरु गर्ने अवधारणा बनाएको बताए। उनका अनुसार यसरी सेवा दिने एम्बुलेन्स फोन आएको १५ मिनेटमा नै सम्बन्धित बिरामीको घरमा सेवा दिन पुग्नेछ।

    यो सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको महर्जनले जानकारी दिए।

    सो सम्बन्धि सम्झौता समेत भइसकेको छ। जस अनुसार प्रतिष्ठानले चिकित्सक उपलब्ध गराउने र सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ।

    महानगरपालिकाले यो सेवाले आकस्मिक तथा स्वास्थ्य समस्या परेका नागरिकलाई घरबाटै स्वास्थ्य सेवा लिन सहज हुने जनाएको छ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend