काठमाडौँ। बिहीबार राति आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ।
राति करिब २ः१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो। बाढीका कारण मोदी खोलाको बिचमा रहेको अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी छ।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी सडकखण्ड नजिक मोदीखोलाको बिचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि निर्माण गरिएका दुईवटा मेटल पुल (कास्की र पर्वततर्फका) बाढीले बगाएको हो। बाढीले मन्दिरको आधा भागमासमेत क्षति पुर्याएको छ।
बाढीपछि मन्दिरमा रहेका पुजारी र दुई जना भक्तजन गरी तीन जना मन्दिरमै फसेको सूचनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट चार जना रोप–रेस्क्यु तथा तीन जना गोताखोरसहितको टोली घटनास्थलमा पुगेको छ।
आवश्यक विपद् उद्धार सामग्रीसहित राति २ः३५ बजे खटिएको सुरक्षा टोलीले फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।



