काठमाडौँ। रोल्पाको थबाङ गाउँपालिका –०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा मृत्युु हुनेको संख्या ५ पुगेको छ।
बुधबार राति करिब ८:४० बजे घर माथिबाट पहिरो खस्दा थबाङ–०५ कोटलबारामा २ जनाको मृत्यु भएकोमा थप ३ जनाको शव फेला परेको हो। घटनामा ८ जना बेपत्ता छन्। बेपत्ता हुनेहरु सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।
पहिरोमा परेर मृत्यु हुनेहरुमा ६० वर्षका कमलबहादुर पुन मगर, १८ वर्षीया शान्ति पुन मगर र ७१ वर्षीया मनखना पुन मगर, ७५ वर्षका दल बहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर छन्।
यसैगरी घाइते हुनेहरूमा सोही स्थानका अन्दाजी २२ वर्षका हिमाल पुन मगर र २५ वर्षका संजय घर्ती मगर छन्।
यस्तै बेपत्ता हुनेमा कमल पुन मगरको छोरी वर्ष ४० की जुन कुमारी पुन मगर, वर्ष ९ का अशिम पुन मगर, वर्ष ६ का अशोक पुन मगर, वर्ष ७५ का डल बहादुर पुन मगर, वर्ष ८० का अजम्बर पुन मगर, वर्ष ७८ को बल बहादुर पुन मगर, वर्ष ७२ को लिल बहादुर पुन मगर र वर्ष ७१ की मनि पुन मगर छन्। पहिरोले घर तथा गोठ पुरिएको छ।
प्रहरीका अनुसार पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका थिए। घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सो क्रममा कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको खुलेको थियो।
प्रहरीसहित स्थानीयको सहयोगमा राति ११:५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको थियो।
थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका थिए।
घटनास्थलमा अझै उद्धार तथा खोजी कार्य जारी छ।घटनाको थप विवरण आउन बाँकी छ।



