काठमाडौँ। रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ।
बुधबार राति करिब ८:४० बजे घर माथिबाट पहिरो खस्दा थबाङ–०५ कोटलबारामा २ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ६० वर्षका कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ति पुन मगर छन्। घटनामा परेर अन्य २ जना घाइते भएका छन्। पहिरोले घर तथा गोठ पुरिएको छ।
प्रहरीका अनुसार पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका हुन्। घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सो क्रममा कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको खुलेको थियो।
प्रहरीसहित स्थानीयको सहयोगमा राति ११:५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको छ। उनीहरूलाई उपचारको लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।
थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगिसकेका छन्। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी छ।
प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ भने घटनास्थलमा फोन सम्पर्क हुन नसकेको कारण थप विवरण आउन बाँकी छ।



