काठमाडौँ। काठमाडौँ महानगरका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पद वहाली गरेका छन्।
अर्यालले बुधबार आफ्नो कार्यकक्षमा पद वहाली गरेका हुन्। पद वहालीपछि बिहीबार नै उनले कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भेटवार्ता पनि गरेका छन्।
सो क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालबाट कर्मचारी परिचालन र व्यवस्थापनमा कुशल नेतृत्वको अपेक्षा गरेको बताइन्।
यस्तै उनले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सुशासन, अन्तरसरकार समन्वय र महानगरबासीका अपेक्षा पूरा गर्ने काममा कुशल नेतृत्वको अपेक्षा गरेको पनि बताइन्।
‘सेवा प्रवाह, अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ, पार्किङ् व्यवस्थापनका लागि वहुतले पार्किङ् स्थल बनाउने, भृकुटीमण्डपमा मेगाहल निर्माण गर्ने, नेपाल सरकारसँग यस अघि गरिएका सम्झौता बमोजिम प्राप्त गर्नु पर्ने सम्पत्ति लिने लगायत ठुला आयोजना सञ्चालन गर्न संघ सरकारसँग समन्वय गर्नुपर्नेछ, कर्मचारी र जनप्रतिनिधिका बिचमा समन्वय र सहजीकरण गरिदिनु पर्नेछ, केही योजनालाई अलि सुस्त छन्, ती योजनालाई तीब्र सञ्चालन गर्नु पर्नेछ।’ उनले भनिन्।



