महेन्द्रनगर। सुदुरपश्चिम प्रदेशमा मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा राति पनि ‘डायलाइसिस’ सेवा सञ्चालनको तयारी गरिएको छ।
यसअघि विहानी र बेलुकी सिफ्टमा डायलाइसिस हुँदै आएकोमा अब तेस्रो सिफ्ट (राति) पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको हो।
अस्पतालक प्रवक्ता डा. अर्जुन भट्टले अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या हुँदै आइरहेको जानकारी दिए। भट्टले बिरामीको चापअनुसार सेवा सहज बनाउने गरेर आवश्यक प्रयास पनि भइरहेको बताए।
“अस्पताल १० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिइरहेका छौं, जनशक्तिसँगै उपकरणको पनि समस्या छ, सबै विषयमा माथिल्लो निकायमा जानकारी गराउसकेका छौं, समाधानका लागि प्रयास जारी छ।” डा. भट्टले भने।
उनका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन्। डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई ध्यानमा राखेर दैनिक तीन शत्रमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन्।
“अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइरहेका छौँ, अब रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ।” गिरीले भनिन्।
उक्त अस्पतालमा हाल कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट डायलाइसिस सेवा सञ्चालन भइरहेको छ। संरचनाको अभावमा सो भवनलाई डायलाइसिस सेवाका लागि प्रयोगमा ल्याइएको हो।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदका अनुसार हाल जनशक्तिको अभावका कारण रातिको सत्र सञ्चालन गर्न समस्या हुँदै आएको छ।
“डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ”, उनले भने, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र संघीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ।” अस्पतालमा डायलाइसिस सेवा लिन आउने बिरामीको चाप अत्यधिक बढेको उनले बताए।



