नेपालगन्ज। बाँकेको नेपालगन्जमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई कारबाही गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई ग्यास लुकाएर राखेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको हो। उक्त पसलले उपभोक्तालाई ग्यास नदिएर लुकाएर राखेको भन्दै उजुरी परेको थियो।
उजुरीपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको नेतृत्वमा आइतबार अनुगमनका क्रममा उक्त पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको थियो।
‘गुनासोपछि हामी नियमित रूपमा बजार अनुगमन गरिरहेका छौँ, सो क्रममा उक्त पसलको गुनासोसमेत हामीसँग आएको थियो, अनुगमनका क्रममा ग्यास लुकाएको भेटियो,’ गुरुङले भने।
उनका अनुसार पसलले उपभोक्तालाई ग्यास छैन भन्दै फर्काउने गरेको र १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको हो।
त्यसपछि प्रचलित व्यवस्थाअनुसार पसललाई न्यूनतम ५० हजार रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङसहित प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
सरकारले ग्यासको अभाव सिर्जना गरिएको गुनासो आउन थालेपछि सादा पोशाकमासमेत बजारमा प्रहरी खटाएको छ भने अनुगमनलाई समेत तिव्रता दिएको छ।



