काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टाछुट्टै बोलपत्रमार्फत करिब करिब ६२ करोड २८ लाख रुपियाँ लागतको खरिद प्रक्रिया अगाडि बढाएको छ।
विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकुल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा लगानी बढाएको हो। यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थियो। अध्ययनबाट प्राप्त तथ्यका आधारमा खरिद प्रक्रिया अगाडि बढाएको हो।
‘सामुदायिक शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको माग अनुरुप बनाउन हामीले लगानी बढाएका छौँ।’ योजना कार्यान्वयनका विषयमा कार्यवाहक प्रमुख सुनिता डंगोले भनिन्।, ‘बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षा कोठा, वातावरणीय सुधार र सजावट, प्रयोगात्मक अभ्यासको अवसर जस्ता सुविधालाई समान रुपमा वितरण गर्ने हाम्रो योजना छ। हामीले गरेको लगानीबाट शिक्षकहरुलाई शिक्षणका लागि प्रोत्साहन हुनेछ। विद्यार्थीहरुलाई सिकाइप्रति रुचि जाग्नेछ। समग्रमा, बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक जस्ता चौतर्फी पक्षको सन्तुलित विकास सबल बन्नेछ।’
शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले माध्यमिक तहसम्मका विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएकाले सोही अनुसार काम गरिरहेको बताए।
‘माध्यमिक तहसम्मका विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो। यसका लागि हामी संघ सरकारको सहयोग र समन्वयमा आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय रुपमा काम गरिरहेका छौँ। हामीले गरेको लगानीबाट शैक्षिक क्रियाकलापमा नतिजा आउन थालेको छ।’
शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार महानगरले प्रत्येक विद्यालयको जीपीएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात, बाढी जस्ता प्राकृतिक जोखिमको अवस्था अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अगाडि सारिएको हो। लगानीको आधार पनि यही हो।
शिक्षा विभागका महाशाखा प्रमुख सुशिल सुवेदीका अनुसार विभिन्न विभाग र वडाबाट खरिद प्रक्रिया अगाडि बढाइएको हो। जसमा शिक्षा विभागबाट वडा नं. १४ मा रहेको जनविकास माध्यमिक विद्यालय र वडा नं. २८ मा रहेको पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माणको प्रक्रिया अगाडि बढाएको हो। यसको लागत क्रमशः ५ करोड ६७ लाख ६८ हजार ८६२ रुपियाँ र १५ करोड ३५ लाख ८४ हजार रुपियाँ रहेको छ।
सार्वजनिक निर्माण विभागबाट ६ वटा विद्यालयको खरिद प्रक्रिया अगाडि बढाएको छ। जसमा वडा नं. २४ मा रहेको श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालय, वडा नं. २६ मा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयको भवन निर्माण र वडा नं. २९ को अटिजम स्कूल निर्माण विभागले अगाडि बढाएका नवनिर्माणका ठुला योजना हुन्। यी योजनाहरुको लागत क्रमशः ५ करोड ५७ लाख ४९ हजार रुपियाँ, ८ करोड ५७ लाख ४२ हजार रुपियाँ र १० करोड ९१ लाख ७९ हजार रुपियाँ रहेको छ।
यस्तै विभागबाट १ करोड ८३ लाख २९ हजार रुपियाँ लागतमा दरबार हाइस्कूलको वहुउद्देश्यीय सभा कक्ष, ८४ लाख १२ हजार रुपियाँ लागतमा महेन्द्र बौद्ध मा. वि. को मर्मत कार्य, ९ करोड ६२ लाख ५४ हजार रुपियाँमा कन्या माध्यमिक विद्यालयको छात्राबास र कक्षा कोठा निर्माण कार्य खरिद प्रक्रियामा गइसकेको छ।
वडा नं. १३ ले १ करोड ६६ लाख ७२ हजार रुपियाँ लागतमा ज्ञानोदय मा. वि. को भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ। यस्तै वडा नं. ३ ले २ करोड २६ लाख ८५ हजार रुपियाँ लागतमा रानीदेवी माध्यमिक विद्यालय भवन निर्माण र वडा नं. २२ ले ७० लाख २९ हजार लागतमा आदर्श मा. वि., गणवहालको जमिन तलाको मर्मत तथा सुधार कार्यको खरिद प्रक्रिया अगाडि बढाएका छन्।
जग्गाको स्वामित्वमा रहेको कानुनी जटिलता र सीमित क्षेत्रफलका कारण कुनै विद्यालयमा नयाँ भवन निर्माण गर्ने, कुनैमा मर्मत सम्भार र सुधार गर्ने त कतै कक्षा कोठा, सभा कक्ष निर्माण हुनेछ । यो, स्रोत परिचालनमा प्राविधिक र व्यवस्थापकीय कुशलता हो।
महानगरपालिकाले सामुदायिक विद्यालयको पूर्वाधारमा गरेको यो लगानीले शैक्षिक गुणस्तरलाई अन्य क्षेत्रसँग प्रतिस्पर्धी बनाउन, सुरक्षित शैक्षिक क्रियाकलाप सुनिश्चित गर्न र प्रविधिमैत्री शैक्षिक हबका रूपमा स्थापित हुन मद्दत पुग्नेछ।
महानगरपालिकाभित्र २ वटा कारागारमा भएका विद्यालय सहित ८३ वटा सामुदायिक विद्यालय छन्।



