काठमाडौँ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा माध्यमिक तहमा शून्य दरबन्दी भएका प्रदेशका विभिन्न स्थानीय तहका २५९ माध्यमिक विद्यालयहरूमा अङ्ग्रेजी गणित र विज्ञान विषयमध्ये कुनै एक विषयमा शिक्षक नियुक्ति गर्ने भएको छ।
प्रदेश सरकारले त्यस्ता शिक्षकहरूलाई प्रचलित नियमअनुसार माध्यमिक तह तृतीय श्रेणी शिक्षकको सुरु तलब स्केलले हुने १२ महिनाको तलब र चाडपर्व खर्च समेत उपलब्ध गराउने भएको हो।
त्यस्तै प्रदेश सरकारले कक्षा ११/१२ मा शून्य दरबन्दी भएका विभिन्न ११ वटा विद्यालयहरूलाई माध्यमिक तह द्वितीय श्रेणीको शिक्षकको तलब स्केलले हुने १२ महिनाको तलब र चाडपर्व खर्चसमेत दिएर अनुदान शिक्षक उपलब्ध गराउने भएको छ।
प्रदेश सरकारले यसरी शून्य दरबन्दी भएका विद्यालयलाई शिक्षक उपलब्ध गराउँदा शिक्षक व्यवस्थापन सहज भई गुणस्तरीय शिक्षा प्रवाहमा सहयोग पुग्ने अपेक्षा राखेको छ।



