काठमाडौँ। नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको छ। यो सिफारिस सँगै अब बस्ने मन्त्रीपरिषदको बैठकले आयल निगमको कार्यकारी निर्देशन नियुक्ति गर्नेछ।
कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते सम्पन्न मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो।
जसअनुसार क्रमश प्युठानका कौशल केसी, धनुषाका नागेन्द्र साह (सीए) र सप्तरीका सञ्जीव कुमार देव अन्तिम तीन जनाको सूचीमा परेका छन्।
नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि गत असार २ गते दरखास्त आह्वान गरिएको थियो। आवेदन दिएका उम्मेदवारमध्ये कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा मूल्याङ्कनका आधारमा यी तीन जनाको नाम छनोट गरिएको समितिले जनाएको छ।
अब सिफारिस गरिएका तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश हुनेछ। मन्त्रिपरिषद्ले उनीहरूमध्ये एक जनालाई नेपाल आयल निगम लिमिटेडको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।
नागेन्द्रको सम्भावना बढी
पटक पटक निमित्त कार्यकारी निर्देशकका रुपमासमेत काम गरिसकेका सिए नागेन्द्र साह तीन जनाको सूचीमा दोस्रो नम्बरमा सिफारिसमा परेका छन्।
अनुभवका आधारमासमेत उनको नाममा मन्त्रालयले कार्यकारी निर्देशक पदका लागि निर्णय गर्ने सम्भावना बढी रहेको निगमका कर्मचारीहरु दाबी गर्छन्।
तत्कालिन कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले गत वैशाख ३० गते राजीनमा दिएपनि निगमको कार्यकारी निर्देशक रिक्त भएको थियो। भट्टले राजीनामा दिएपछि सरकारले साहलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो। उमेर हदका कारण साहले अवकास पाएपछि निमित्तको जिम्मेवारी दिपक बरालले सम्हाल्दै आएका छन्।




