काठमाडौं। बागमती प्रदेश सरकारले विपदबाट प्रभावित बनेका ४५ स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ।
बागमती प्रदेश सरकारको शनिबार हेटांडामा बसेको मन्त्रीपरिषद् बैठकले बाढीपहिरोले क्षति पुर्याएका ४५ वटा पालिकालाई तीन वटा क्लष्टर छुट्याएर आर्थिक सहायता प्रदान गर्ने निणर्य गरेको हो।
जसअनुसार ७ वटा पालिकालाई २० लाख, १२ वटा पालिकालाई १५ लाख र २६ वटा पालिकालाई १० लाखका दरले रकम दिने निणर्य भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले एक्सरे नेपाललाई जानकारी दिए।
‘४५ वटा पालिकालाई तीन वटा क्लष्टर छुट्याएर आर्थिक सहायता प्रदान गर्ने निणर्य बागमी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले गरेको छ,७, १२ र २६ स्थानीय तहलाई क्लष्टर छुट्याएर आर्थिक सहायता प्रदान गर्ने निणर्य भएको छ,’ लामिछानेले मन्त्रीपरिषद्को निणर्यबारे जानकारी दिंदै भने।
सो रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइने छ भने स्थानीय तहले राहत वितरणसहितका काममा खर्च गर्न सक्ने छन्।
प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निणर्य गरेको लामिछानेले जानकारी दिएका हुन् ।



