चितवन। भरतपुर महानगरपालिका-१६ मा रहेको एक औषधि फ्याक्ट्रीमा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार दिउँसो करिब ३ः२० बजे रोयल फर्मासिटीकल्स उद्योगमा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर विष्फोट भएको थियो।
सो घटनामा ग्याँस भर्ने काम गरिरहेका भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेर्वा सुगौली गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका हुन्।
घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो करिब ४ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको उनले उल्लेख गरे। दुवै जना रोयल फर्मासिटीकल्स उद्योगमा एसीमा ग्यास भर्नका लागि त्यहाँ पुगेका थिए।



