बिराटनगर। आज नोबेल मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरमा अत्याधुनिक बर्न युनिटको शुभारम्भ भएको छ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु तथा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकर मान राईको उपस्थितिमा बर्न युनिट सेवाको उद्घाटन गरिएको हो।
यो सेवाको शुभारम्भ भएपछि अब आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट जलेका बिरामीहरूले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने छ। अब विराटनगरमै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र समर्पित स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय बर्न केयर सेवा उपलब्ध हुनेछ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीलाई समयमै, सुरक्षित र प्रभावकारी उपचार उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ गर्दै जाने विश्वास समेत व्यक्त गरेको छ।



