मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कहाँकहाँ छन् सडक अवरुद्ध?

कहाँकहाँ छन् सडक अवरुद्ध?

images
२०८३ आषाढ २९ गते, सोमवार
२०८३ आषाढ २९ गते, सोमवार
  • काठमाडौँ। अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढीका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। 

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको छ।

    images

    कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएदेखि एकतर्फी सुचारु हुँदै आएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ।

    यसैगरी इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ। सो स्थानमा समेत वैकल्पिक ब्यवस्था गरिएको छ।

    यसैगरी बागमती प्रदेश अन्तर्गत पर्ने काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने वी.पि. राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो सडकमा सम्भावित बाढीका कारण असार २२ गतेदेखि नै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

    यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ (ललितपुरदेखि हेटौँडा) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

    गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ भने लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडकमा अवरोध पुगेको छ।

    यसैगरी रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ।

    गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द छ। असार २८ गते पहिरो गएको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्ग हाल एकतर्फी रूपमा सुचारु छ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend