काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ।
जसको प्रभावका कारण हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
यसैगरी कोशी, बागमती, गण्डकी,लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
यस्तै मधेश प्रदेश साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।



