बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विद्यालयमा मुक्तिनाथ बैंकको `लोगो´ सहितको झोला,  ‘सामाजिक उत्तरदायित्व’ कार्यक्रममा राजनीतिक गन्ध?

विद्यालयमा मुक्तिनाथ बैंकको `लोगो´ सहितको झोला,  ‘सामाजिक उत्तरदायित्व’ कार्यक्रममा राजनीतिक गन्ध?

images
२०८३ आषाढ २१ गते, आइतवार
२०८३ आषाढ २१ गते, आइतवार
  • काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालय तथा स्थानीय तहमा सञ्चालन गरिरहेका कार्यक्रममाथि `राजनीतिक गन्ध´ आएको भन्दै स्याङ्जामा प्रश्न उठ्न थालेको छ।

    images

    बैंकको नाममा सञ्चालन भइरहेका कार्यक्रम वास्तवमै सामाजिक सेवामुखी हुन् कि केही व्यक्तिको राजनीतिक छवि निर्माणको माध्यम भन्ने विषयले स्थानीय स्तरमा बहस चुलिँदै गएको छ।

    images

    विशेषगरी बैंकका बोर्ड सदस्य भरतप्रसाद लम्साल पछिल्लो समय स्याङ्जाका विभिन्न वडा तथा पालिकामा निरन्तर पुगेर ‘सामाजिक उत्तरदायित्व’ अन्तर्गतको भनिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्।

    कार्यक्रममार्फत विद्यालयहरूमा मुक्तिनाथ विकास बैंकको लोगो अंकित झोला वितरण गर्ने, भाषण गर्ने र स्थानीयलाई प्रभावित पार्न राजनीति जोड्ने शैलीले आश्रय पाइरहेको बताइन्छ। कार्यक्रममा निकटका राजनीतिक ब्यक्तिहरुलाई पनि परिचालन गरिएको भन्दै स्थानीयको गुनासो गरिरहेका छन्।

    स्थानीयहरुका अनुसार लम्सालले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई आफ्नो राजनीतिक पहुँच विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको आरोप छ। उनीहरूका अनुसार हरेक हप्ता जसो फरक–फरक स्थानमा पुग्ने, बैंकको ब्यानरमुनि सार्वजनिक सम्बोधन गर्ने र स्थानीय जनप्रतिनिधि तथा कार्यकर्तासँग निकटता बढाउने काम लम्सालले गरिरहेका छन्। उनको सो गतिविधिलाई धेरैले आगामी स्थानीय तहको निर्वाचनको तयारीका रूपमा हेर्न थालेका छन्।

    यस्तै, केही कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संस्थापक भरतराज ढकाल पनि देखिन पुग्ने गरेका छन्। ढकाल पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मीसँग १० हजार २१४ मतान्तरले पराजित भएका थिए।

    ढकालले आगामी निर्वाचनलाई लक्षित गर्दै पुनः स्थानीयमाझ भेटघाट बढाउन थालेको चर्चा छ। बैंकको नाममा हुने कार्यक्रमहरूमा उनको उपस्थितिलाई पनि धेरैले राजनीतिक पुनरागमनको संकेतका रूपमा हेरिरहेका छन्।

    कांग्रेसका स्थानीय नेता मानिने लम्साल भने प्रदेशसभा सदस्य वा पुतलीबजार नगरपालिकाको प्रमुख पदमा चुनाव लड्ने तयारीमा रहेको बताइन्छ। उनले आफू निकटकाहरुलाई सो बारे मुख खोलिसकेका छन्। उनी `दुई मा एक´ को रणनीतिमा छन्। लम्सालले टिकट पाए पनि रास्वपाको बढ्दो लहरका कारण उनको चुनावी यात्रा बारे स्थानीयले त्यत्ति सहज अनुमान गरेका छैनन्।

    कुनै संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको सामाजिक कार्यलाई राजनीतिक शैलीमा अघि बढाउँदा त्यसलाई जनताले मुल्यांकन गरिरहेको एक स्थानीयले बताए।

    `जनता बुझ्ने भइसकेका छन्, अब प्रभावमा पर्ने वा पार्ने अवस्था त्यति सहज छैन, उहाँहरू राजनीतिक प्रोग्रेसको अवधारणा सहित कार्यक्रम गर्दै हुनुहुन्छ, यो उहाँहरुकै हितमा हुँदैन।´ ती स्थानीयले भने।

    स्थानीयको यो भनाइलाई हेर्दा सामाजिक उत्तरदायित्वको नाममा विद्यालयमा झोला वितरण गर्दै हिँड्ने कार्यक्रम वास्तवमा विद्यार्थीको हितका लागि हो कि राजनीतिक लाभका लागि भन्ने प्रश्नको जवाफ सम्बन्धित पक्षले दिनुपर्ने देखिएको छ।

    बैंकिङ संस्थाले गर्ने सामाजिक गतिविधि र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाबीचको सीमारेखा कहाँ हो भन्ने बहस स्याङ्जामा झन् तीव्र बन्दै गएको छ।

    मुक्तिनाथ विकास बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले भने संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत विद्यालयमा झोला वितरण गरिएको बताए।

    `हामीले सामाजी उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरेका हौं, स्याङ्जामा मात्र होइन हाम्रो शाखा नभएका अन्य जिल्लाबाट सहयोगका लागि प्रपोजल आएका स्थानमा पनि हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका छौं, बिजनेश प्रपोज मात्र होइन, राजनीतिक जोड्ने कुरा पनि होइन।´ गुरुङले भने।

    उनले बैंकले प्लान अनुसार सामाजिक उत्तरदायित्वको क्षेत्रमा वर्षै पिच्छे काम गर्दै आएको पनि दाबी गरे।

    `स्वास्थ्य क्षेत्रमा पनि हामीले सहयोग गरेका छौं, हात नभएका ब्यक्तिहरुलाई कृत्रिम हातहरु पनि सहयोग गरेका छौं, यस्तै विद्यार्थीहरुलाई छात्रवृत्तिमा सहयोग गरिएको छ।´ उनले भने।

    सूचना अधिकारी गुरुङले कोशी प्रदेश, मधेस प्रदेश लगायत कर्णाली प्रदेशमा पनि केही जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गर्दै आइएको बताए। उनले राजनीतिक हैसियतमा कुनै कार्यक्रम नगरिएको र सो विषय उठाइनु आरोप मात्रै भएको दाबी गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend