काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागले मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको उल्लेख छ।
यस्तै देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षाको पनि पूर्वानुमान गरिएको छ।
जारी सूचनामा लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैगरी खोला तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बस्ने तथा नदी किनारका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान र सुरक्षित स्थानको जानकारी राख्न अनुरोध गरिएको छ।
यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले निर्देशन दिइएको छ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि जारी सूचनामा भनिएको छ।
प्राधिकरणले नागरिकलाई वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर आवश्यक पर्दा प्रयोग गर्न अनुरोध गरेको छ।




