विराटनगर। विराटनगरमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति सुरु गरेको छ।
सो मेडिकल कलेजले हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु गरेको हो। यी दुवै पद्धतिमार्फत बिरामीको रगतमा भएका हानिकारक पदार्थहरू छानेर हटाउने र सफा रगत पुनः शरीरमा फर्काउने कार्य गरिन्छ।
हेमोपर्फ्युजन उपचार पद्धतिमा बिरामीको रगतलाई एक विशेष फिल्टरबाट पार गराएर विष, हानिकारक औषधि र विभिन्न रसायनिक पदार्थहरू हटाइन्छ। यो विधि विशेष गरी विषाक्तता (Poisoning), ड्रग ओभरडोज र गम्भीर संक्रमण (Sepsis) का बिरामीहरूको उपचारमा अत्यन्त उपयोगी र प्रभावकारी हुन्छ।
त्यसैगरी प्लाज्माफेरेसिस उपचार प्रक्रियामा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी र विषाक्त पदार्थ छुट्याएर हटाइन्छ। यो तरिका मुख्यतः स्नायु सम्बन्धी विभिन्न रोग र मृगौला सम्बन्धी जटिल बिरामीहरूको उपचारमा प्रयोग गरिन्छ।
यी उन्नत उपचार सेवाहरू सुरु भएपछि पूर्वी नेपालका बिरामीहरूलाई उपचारका लागि अब काठमाडौं वा भारत जान नपर्ने बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका कन्सल्टेन्ट एनेस्थेजियोलोजिस्ट तथा किर्टिकल केयर फिजिसियन डा. दीपक पौडेलले जानकारी दिए।
डा. पौडेलका अनुसार, यी सेवाहरूको शुरुवातले स्थानीय र पूर्वी नेपालका बिरामीहरूलाई विश्वमानको उपचार स्वदेशमै पाउने सुविधा प्रदान गरेको छ। यससँगै, बिरामीहरूको आर्थिक र शारीरिक बोझ पनि कम हुने अपेक्षा गरिएको छ।



