काठमाडौँ। काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ।
काठमाडौ महानगरपालिकाद्वारा आयोजित एक विशेष कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो। ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले, सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरेकी हुन्।
सो घोषणापछि यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौतासमेत गरिएको छ। यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ सो सम्झौता गरिएको हो।
सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।
‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका क्षेत्र घोषणा २०८३ को कार्यान्वयन सुनिश्चितताका निमित्त आवश्यक पूर्वाधारहरू खडा गर्न, संयन्त्र विकास गर्न, सम्बन्धित कार्यालय, निकाय तथा स्थानहरूमा घोषणा सम्बन्धी सूचनाहरू सम्प्रेषण गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछौँ।’ सम्झौतामा भनिएको छ।
घोषणा तथा घोषणा कार्यान्वयन सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँलाई सांस्कृतिक सहरसँगै मानवतामा आधारित सहरको पहिचानका रुपमा स्थापित गराउने कामप्रति थप जिम्मेवार हुन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौँ घोषणा गरिएको बताइन्।
‘न त यो शुरुवात् हो। न अन्त्य नै हो। हामीले विगत ९ वर्षदेखि निरन्तर काम गरिरहेका छौँ। र, भविष्य यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेछौँ।’ डंगोलले अगाडि भनिन्, ‘आजसम्म सहरमा देखिएका भेटिएका सबै सहयोगापेक्षीहरुलाई उद्धार गरेका छौँ। भोलि कोही सडकमा यसै गरी देखिनुभयो भने, भेटिनुभयो भने तत्काल उद्धार तथा पुनःस्थापनाका लागि संयन्त्र परिचालन गर्नेछौँ।’
उनले मानवता प्रवर्धनका लागि गैरसरकारी संस्थाले थालनी गरेको अभियानमा सरकारकातर्फबाट सहकार्य थालनी गर्ने सबैभन्दा पहिलो निकाय काठमाडौँ महानगरपालिका भएकोपनी बताइन्।
`मानिसहरुका बिचमा दया र करुणा प्रवर्धन गरेर, पारिवारिक तथा सामाजिक सद्भावलाई बढाएर काठमाडौँ महानगरपालिकाले लोककल्याणकारी राज्य स्थापना गर्न सरकारलाई सहयोग प्रदान गरिरहनेछ।’ उनले थपिन्।
सो समारोहमा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ मानवता प्रवर्धनमा कमजोरी हुन दिनु नहुने बताए।
`जिम्मेवार पदमा बस्दा आफूले गर्न नसकेको कामप्रति ग्लानी छ,मानवता प्रवर्धनमा कमजोरी हुन दिनु हुँदैन।´ श्रेष्ठले भने।
प्रहरी महानिरीक्षक कार्कीले सुरक्षालाई भौतिक सुरक्षाका रुपमा मात्र बुझ्ने गरिएको भन्दै वृहत्तर सुरक्षा स्वास्थ्य, शिक्षा, खाद्यजस्ता आधारभूत प्राप्तिका विषय भित्र पर्ने बताए। उनले काठमाडौँमा महानगरपालिका र नेपाल प्रहरी मिलेर अब एकीकृत सुरक्षाका काम गर्ने प्रतिबद्धता जनाए।
महानगरपालिकाले २०७४ सालदेखि मानव सेवा आश्रमसँगको सहकार्यमा हरेक वर्ष औसतमा २ करोड रुपियाँ खर्च गरिरहेको छ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, विकासको सूचकहरुमध्ये मानव सुरक्षा महत्वपूर्ण सूचक रहेकोले यसलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताए।
`समस्या सिर्जना नहुन् भन्न हामीले सामाजिक क्षेत्रमा मानव विकास र व्यवस्थापनका कामलाई महत्व दिने गरेका छौँ।’ उनले भने।
हालसम्म सहयोगापेक्षीको व्यवस्थापनमा गरिएका प्रयासका विषयमा प्रस्तुतिकरण गर्दै आश्रमका अध्यक्ष अधिकारीले आजको घोषणा र सम्झौताले मानवीयता प्रवर्धनका लागि ठोस नतिजा र दिगोपनामा सहयोग पुग्ने बताए। अधिकारीका अनुसार उद्धार तथा पुनर्स्थापना गरिएका सहयोगापेक्षीहरुमा विदेशी नागरिकहरु पनि छन्।
अधिकारीका अनुसार भारतका ३१३ जना, पाकिस्तानाक १ जना, वंगालादेशका ९ जना, अमेरिकाका २ जना, रुस, चीन, फ्रान्स र वेलायतका १–१ जना नागरिकलाई सडकबाट उद्धार गरिएको छ।
अधिकारीले संख्यामा नतिजा सुनाउँदै भने, ‘स्थापना कालदेखि अहिलेसम्म देशभरिबाट हामीले १३ हजार ६९८ जनालाई उद्धार गरेका छौँ, २०७४ मंसिर १ गते यता काठमाडौँ महानगरपालिका क्षेत्रबाट मात्र १ हजार ५७१ पुरुष र ८५० जना महिला गरी २ हजार ४२१ जनाको उद्धार र व्यवस्थाको काम भएको छ।’
यही समारोहबाट मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले सञ्चालन गरेको मेची महाकाली अभियान पनि समापन भएको छ। यस अवधिमा १९७ जना सहयोगापेक्षीको उद्धार र व्यवस्थापन गरिएको अध्यक्ष अधिकारीको भनाइ छ।
फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले यो सम्झौताको दिनलाई आफूले पवित्र दिनका रुपमा सम्झना गर्न चाहेको उल्लेख गरिन।
समारोहमा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद तथा आश्रमका संरक्षक डा. गोविन्द टण्डन लगायत वक्ताले सहयोगापेक्षी मानवमुक्त घोषणा भएको दिनलाई आफूहरुले हेर्न, सुन्न र अनुभूति गर्न अपेक्षा गरेको दिनका रुपमा पाएको धारणा राखे।



