मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो : मोबाइल ब्यवसायी महासंघ

नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो : मोबाइल ब्यवसायी महासंघ

images
२०८३ जेठ २५ गते, सोमवार
२०८३ जेठ २५ गते, सोमवार
  • काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ।

    images

    महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको मर्यादा कायम नभएको निहुँमा अन्य विकल्पमा नगएर मोबाइल जफत गरी नष्ट गर्ने कार्य गर्नुलाई जायज मान्न नसकिने बताउँदै सो घटनाको सत्यतथ्य छानबिन गरि विद्यार्थीहरुलाई न्याय दिन माग गरेको छ।

    images

    यस्तै पानीमा डुबाउँदैमा ती मोबाइलका चिप्स नष्ट नहुने र त्यसका लागि नेपालमा कुनै विधि नभएको हुँदा डाटा चोरी हुन सक्ने जोखिम रहेको पनि महासंघले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

    `मोबाइल फोनको सन्दर्भमा हाम्रो आफ्नो उत्पादन क्षमता नभएको र अन्तर्राष्ट्रिय बजारबाट आयातमा नै निर्भर रहनु पर्ने अवस्थामा यो घटनाले नेपालीलाई थप आर्थिक भार थोपर्ने हाम्रो बुझाइ छ। यस्तै ती मोबाइल फोनमा भएका सम्बन्धित ब्यक्तिका निजी डाटाहरु पनि नष्ट भएका छन, जुन कुनै मूल्यसँग तुलना नै हुँदैन, यो अत्यन्तै गम्भीर विषय हो।´ महासंघका अध्यक्ष रमेशकुमार घिमिरे र महासचिव छतेन्द्र आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, `ती मोबाइलमा भएका चिप्सहरु पानीमा डुबाउँदैमा नष्ट नहुने र त्यसलाई नेपालमा नष्ट गर्ने कुनै विधिको अभ्यास पनि नभएको हुँदा त्यसको जिम्मेवारी अब कसले लिने भन्ने गम्भीर प्रश्न खडा भएको छ। अब ती मोबाइलमा प्रयोग भएका डाटासमेत चोरी हुने जोखिम छ।´

    महासंघले ती मोबाइलको मूल्य १ करोड भन्दा बढी हुन आउने र त्यसले देशको अर्थतन्त्रलाई समेत घाटा बनाएको दाबी गरेको छ।

    यसैगरी महासंघले प्रयोग भइसकेका मोबाइल फोनहरुको दोस्रो विक्री (सेकेन्ड ह्यान्ड) कारोबारलाई वैध बनाउन पनि सरकारसँग माग गरेको छ। यसो गर्दा निश्चित रकम सरकारको राजश्वमा जम्मा हुने विधि अपनाउन सकिने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने हुँदा देशको ठूलो धनराशि जोगिने महासंघको दाबी छ। यस्तो अभ्यास विदेशका केही मुलुकमा रहेको पनि महासंघले बताउँदै आइरहेको छ।

    सिराहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लिएर परीक्षा हलभित्र प्रवेश गरेका विद्यार्थीहरूबाट सातवटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँचवटा स्मार्टवाच खोसिएको थियो। यस्तै यी सामग्री जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend