बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विश्वब्यापी अभाव देखिएको `कार्बोप्लाटिन´ ४ हजार भाइल हवाइ र स्थलमार्गबाट नेपाल ल्याइँदै, डेढ महिनालाई माग धान्ने

विश्वब्यापी अभाव देखिएको `कार्बोप्लाटिन´ ४ हजार भाइल हवाइ र स्थलमार्गबाट नेपाल ल्याइँदै, डेढ महिनालाई माग धान्ने

images
२०८३ जेठ २३ गते, शनिवार
२०८३ जेठ २३ गते, शनिवार
  • काठमाडौँ। क्यान्सरको बिरामीलाई किमोथेरापी गर्न उपचारमा प्रयोग हुने औषधिको हाहाकारलाई तत्कालका लागि न्यूनीकरण गर्न ४ हजार भाइल `कार्बोप्लाटिन´ नेपाल ल्याइँदै छ।

    images

    नेपाल औषधि आयातकर्ता संघ (मीयान) ले तत्कालका लागि अभाव रोक्न भारतीय उत्पादक विभिन्न कम्पनीसँग आग्रह गर्दै माग गरेअनुसारको औषधि उपलब्ध गराउन भारतीय उत्पादक पक्ष तयार भएपछि हवाइमार्ग र स्थलमार्ग हुँदै ४ हजार भाइल कार्बोप्लाटिन नेपाल ल्याइँदैछ।

    images

    आज आइपुग्ने कार्बोप्लाटिन नेपाली आयातकर्ता कम्पनी यतिकेम डिस्ट्रिव्युटर्सले हवाइमार्ग हुँदै ल्याउन लागेको औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए।

    `आज यतिकेमले बाइ फ्लाइट १५० एमजीको ५०० भाइल कार्बोप्लाटिन ल्याउँदै छ, औषधिको धेरै नै हाहाकार भयो, बिरामीले औषधि नै नपाउने अवस्था बनेपछि हामीले निरन्तर भारतीय कम्पनीसँग कुरा गरिरहेका थियौं, सकारात्मक जवाफ आएपछि आज ल्याइँदैछ, बिरामीलाई औषधि उपलब्ध गराउने जिम्मेवारी हाम्रो हो, सरकारले पनि यसमा चासो दिएको छ। ´ आचार्यले एक्सरे नेपालसँग भने।

    उनले केही दिन भित्रै ताज नेपालले ल्याउँदै गरेको ३५ सय भाइल (४५० एमजीको १४०० भाइल र १५० एमजीको २१०० भाइल) कार्बोप्लाटिन पनि नेपाल आइपुग्ने बताए। सो कम्पनीले ल्याउन लागेको कार्बोप्लाटिन स्थलमार्गबाट बिरगंज भन्सार हुँदै काठमाडौँ आइपुग्ने छ।

    `ताज नेपालमार्फत कार्बोप्लाटिन बोकेको सवारीसाधन पनि हिडिसकेको जानकारी आएको छ, यो कम्पनी मार्फत आयात भएको कार्बोप्लाटिन बिरगंज भन्सार हुँदै सिधै काठमाडौँ आइपुग्ने छ।´ आचार्यले भने।

    स्थलमार्ग हुँदै ल्याउइने औषधि आइतबारसम्म भारतीय भन्सार रक्सौलमा आइपुग्ने तथा सोमबार बिरगंज भन्सारबाट जाँचपास भएर मंगलबारसम्म काठमाडौँ आइपुग्ने छ। त्यसपछि कार्बोप्लाटिन अस्पतालहरुमा पठाइने छ।

    यसअघि दश दिन अघिसमेत आयान लाइफ केयरले बंगलादेशबाट कार्बोप्लाटिन नेपाल ल्याएको थियो। सो कम्पनीले कार्बोप्लाटिन नेपाल ल्याएपछि औषधि ब्यवस्था विभाग र आयातकर्ता संघको समन्वयमा बिरामीहरुलाई उपलब्ध गराइएको थियो।

    डेढ महिनालाई माग धान्ने 

    औषधि आयातकर्ता संघका अध्यक्ष आचार्यका अनुसार भारतबाट ल्याइंदै गरिएको कार्बोप्लाटिन नेपाल आइपुग्दा ४५ दिनसम्मका लागि माग धान्ने छ। 

    यसरी हवाइमार्ग र स्थलमार्ग हुँदै ल्याइएका औषधि क्यान्सरको उपचार हुने देशका सबै अस्पतालहरुमा उपलब्ध गराइने आचार्यले जानकारी दिए। 

    `अहिले ल्याउँदै गरेको कार्बोप्लाटीन यहाँ आइपुग्दा १ देखि डेढ महिनालाई पुग्छ, हामीले अहिले अभाव भएपछि डाक्टरको प्रेस्किप्सनका आधारमा यो औषधि उपलब्ध गराउँदै आएका थियौं, अब बिरामीले एकदमै सहज रुपमा पाउँछन्।´ आचार्यले अगाडि थपे।

    काठमाडौ, भक्तपुर सहित पोखरा, धरान, बिराटनगर, भरतपुर लगायतका क्यान्सर उपचार हुने अस्पतालमा आवश्यक मात्रामा यी औषधि उपलब्ध गराइने छ।

    आचार्यले सिस्प्लाटिनको पनि नेपालमा अभाव रहेको र सो औषधि पनि उत्पादक कम्पनीसँग माग गरिएको जानकारी दिए। 

    मन्त्रालय र विभाग पनि समाधानको प्रयासमा 

    औषधी व्यवस्था विभागले औषधि आयातकर्ताहरुसँग गत बिहीबार औषधीको मौज्दात, उपलव्धता, आयात अवस्थाको बारेमा जानकारी माग गरेको थियो। यस्तै विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले आयातकर्ताहरुलाई अभाव देखिएका कार्वोप्लाटिन र सिस्पप्लाटिन ल्याएर सहयोग गर्न आग्रह समेत गरेकी थिइन्।

    यस्तै शुक्रबार मात्रै स्वास्थ्य मन्त्री निशा मेहताले विभागको बबरमहलस्थित कार्यालयको निरीक्षण गर्दै क्यान्सरको बिरामीहरुमा प्रयोगहुने कार्वोप्लाटिन र सिस्प्लाटिन इन्जेक्सनको आयात तथा उपलव्धताबारेमा चासो राखेकी थिईन्। प्रधानमन्त्री कार्यालयलेसमेत सो विषयलाई चासो राखेको पाइएको छ।

    यसैबीच अभावकै फाइदा उठाउँदै केही ब्यक्तिले बजारमा अवैध रुपमा `ब्ल्याक´मा पनि औषधि विक्री गरिरहेको बिरामीका आफन्तहरुले गुनासो गर्दै आएका छन्। जथाभावी बढी मूल्य लिएर विक्री गरिएका त्यस्ता औषधिको गुणस्तरीयतामाथिसमेत प्रश्न उठेको छ। त्यस्ता औषधिले बिरामीको स्वास्थ्यमाथि पनि गम्भीर असर पार्न सक्ने चिन्ता समेत ब्यक्त हुँदै आएको छ।

    `ग्लोबल सर्टेज´ ले समस्या

    भारतीय संचारमाध्यमहरुका अनुसार कार्बोप्लाटिन विश्व ब्यापी रुपमा नै अभाव भएको छ। पश्चिम् एसियायी मुलुकमा जारी द्वन्द्वको असरका कारण सो औषधिको कच्चापदार्थ आयातमा समस्या हुँदा अभाव देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। बंगलादेशमा पनि प्लाटिनम समुहका औषधिको अभाव छ। 

    नेपालमा यी औषधिको आयातमा समस्या हुँदा अभाव देखिएको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ। स्वास्थ्य तथा खाद्यस्वच्छता मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, सूचना अधिकारी डा. भक्त बहादुर केसीले क्यान्सरको औषधिको अभाव भएको स्वीकार्दै खपतको वास्तविक अवस्थाको जानकारी लिइएको बताए। 

    `सप्लाइ चेनमा समस्या आएको रहेछ, मन्त्रालयले खपतको अवस्था बुझ्ने काम गरेको छ, विभिन्न चरणमा छलफल भएका छन्, सहज रुपमा औषधि उपलब्ध गराउने गरेर प्रयास भइरहेको छ।´ केसीले भने।

    उनले २०७२ सालमा भएको निर्णय अनुसार तोकिएको मूल्यमा अहिले औषधि आयात गरेर अस्पताललाई उपलब्ध गराउन सकिने अवस्था नरहेको आयातकर्ताहरुको गुनासो रहेको पनि बताए।

    `पहिले भएको टेन्डर अनुसार तोकिएको मूल्यमा औषधि दिन सक्दैनौ भन्ने आयातकर्ताहरुको गुनासो छ, पहिले टेन्डर भइसकेका अस्पतालमा अधिकतम खुद्रा मुल्यमा नै भए पनि उपलब्ध गराउने गरेर सहयोग गरिदिनुस भनेका छौं।´ केसीले अगाडि थपे।

    स्वचालित मूल्य प्रणाली समाधानको विकल्प 

    नेपालमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि भारत लगायतका तेस्रो मुलुकबाट आयात हुँदै आएको छ। पछिल्ला केही समयदेखि पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चापदार्थमा भएको भारी मूल्य वृद्धि र ढुवानीमा बढेको लागतका कारण नेपालमा पुरानो मुल्यमा औषधि आयात गर्न समस्या हुँदै आएको नेपाल औषधि आयातकर्ता संघ (मीयान) ले बताउँदै आएको छ।

    संघका अध्यक्ष आचार्यले औषधिको अभावको अवस्था बारे सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराइएको तथा विकल्प समेत दिइएको बताए। उनले २०७२ सालमा निर्धारण गरिएको मुल्यमा औषधि किनेर घाटा खाएर दिन सक्ने अवस्था नरहेको भन्दै स्वचालित मूल्य प्रणाली नै अभाव रोक्ने एकमात्र विकल्प भएको दाबी गरे।

    `२०७२ देखि औषधीको मूल्य समायोजन भएको छैन, कच्चापदार्थको मूल्य बढ्दा औषधिको मूल्य विश्व बजारमा नै बढेको छ, हामी पुरानो मुल्यमा आयात गरेर नियमीत रुपमा आयात गर्न सक्ने अवस्थामा छैनौं, आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन तर्फ लाग्नु नै विकल्प हो, स्वचालित मूल्य प्रणाली लागू गर्दा विश्व बजारमा बढ्दा नेपालमा पनि बढ्छ, घट्दा यहाँ पनि घट्छ।´ आचार्यले भने।

    औषधि ब्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले अन्तरराष्ट्रिय रुपमा ती औषधिको मूल्य बढेको र नेपालमा समायोजना गर्न नसकिएको हुँदा अभाव भएको र समाधानको प्रयास जारी रहेको बताए। 

    `अहिले देखिएको समस्याको वर्तमान अवस्था बारे मन्त्रालयमा हामीले जानकारी गराइसकेका छौं, यो समस्या विश्वब्यापी रहेछ, पश्चिम एसियायी मुलुकमा भएको द्वन्द्वका कारण कच्चापदार्थको मूल्य वृद्धि हुँदा नेपालमा पनि आयातमा समस्या भएको देखियो, विगतमा निर्धारण गरिएको मूल्य समायोजन नहुँदा पनि समस्या बढेको रहेछ, औषधि ब्यवस्था विभागले अवस्थाको ब्रीफिङ सहित मन्त्रालयलाई विकल्प दिएको छ।´ बज्राचार्यले भने।

    औषधीहरुको मूल्य लामो समयदेखि समायोजन हुन नसक्दा, विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि तथा पश्चिम एशियामा देखिएको द्धन्दका कारण ढुवानी, बीमा, उत्पादन तथा आपूर्ति श्रृङ्खलामा गम्भीर असर परेको बताइन्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend