हेटौंडा। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले मकवानपुरगढी गाउपालिका-४ मा रहेको मनकामना मन्दिरमा फोहोर ब्यवस्थापनका लागि डस्वीन सहयोग उपलब्ध गराएको छ।
शनिबार विहान आयोजित एक कार्यक्रममार्फत म्यान मकवानपुरले १५औं स्थापना दिवसका अवसर पारेर मनकामना मन्दिरमा फोहोर ब्यवस्थापनका लागि फलामे स्टेन सहितका ठुला चार वटा डस्वीन सहयोग गरेको हो।
नेपाल मोबाईल ब्यवसायी महासंघका केन्द्रीय महासचिव छतेन्द्र आचार्यले मकवानपुरगढी-४ का वडा अध्यक्ष अर्जुन तिमल्सिना र मन्दिरका पुजारीलाई सो डस्वीन हस्तान्तरण गरेका हुन्।
सहयोग बुझेपछि वडा अध्यक्ष तिमल्सिनाले जनस्वास्थ्यसँग जोडिएको सरसफाइका लागि उपयुक्त तथा सकारात्मक सहयोग प्राप्त भएको बताए।
उनले पछिल्लो समय लागूपदार्थ दुर्व्यसनीको बढ्दो अवस्थालाई रोकथाम गर्नु पर्ने आवश्यकता औंल्याउँदै म्यान मकवानपुरको युवा जनशक्तिले त्यसतर्फ पनि कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि महासंघका महासचिव आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताए। उनले विगतमा समेत संघले सरसफाइ लाई प्राथमिकतामा राख्दै आएको स्मरण गरे।
मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष सागर न्यौपानेले स्थापना दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम मन्दिरमा आयोजना गरिएको बताउँदै अन्य कार्यक्रम पनि आयोजना गरिने जानकारी दिए।
कार्यक्रममा म्यान मकवानपुरका पदाधिकारी तथा कार्यसमिति सदस्य, पुर्व पदाधिकारी तथा सल्लाहकारको सहभागिता थियो भने कार्यक्रम पश्चात् मन्दिर परिसरमा सरसफाइ गरिएको थियो।










