काठमाडौँ। हाल नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो बढ्ने तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना रहेको छ महाशाखाको पूर्वानुमान छ। मधेस र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
आज राति कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
यस्तै कञ्चनपुर कैलाली डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर (लु) चल्ने सम्भावना रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ।



