काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार सोमबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
यस्तै कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।



