काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। जसका कारण हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारण बादल लागेको छ। यस्तै बाँकी भूभागमा आंशिक बादल लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लामा हुरीबतास, असिना, मेघगर्जन र चट्याङको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



