काठमाडौँ। ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने २०० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आइतबार यो कारबाही भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको जानकारी दिए।
उनले अभियानका क्रममा चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्त्व तथा ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको पनि बताए।
हाल उपत्यका सञ्चालित उक्त विशेष अभियानलाई आगामी दिनमा पनि अझ प्रभावकारी बनाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए।
उनका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भिडभाड हुने सडकमा विशेष निगरानी बढाइएको छ।



