काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाको भनाइ छ।
यस्तै राति कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।



