काठमाडौं। नेपालमा स्मार्टफोनको आयातमा वृद्धि देखिएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ।
विभागका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार थान स्मार्टफोनको नेपालमा आयात भएको हो।
गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोनको आयात निकै उत्साहजनक देखिएको छ।
विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो। उक्त तथ्यांक अनुसार हालको तथ्यांक झण्डै साढे ८ अर्ब रुपैयाँले बढी हो। उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफोन नेपालमा आयात भएको थियो।
विभागको तथ्यांक तुलना गर्दा गत वर्षभन्दा हालको वर्षको सोही अवधिमा स्मार्टफोन आयात करिब ९० हजार थानले वृद्धि भएको देखिन्छ।
पछिल्लो तथ्यांकले नेपाली बजारमा महँगा र आधुनिक स्मार्टफोनको माग बढ्दै गएको र सस्ता मोबाइलका प्रयोगकर्ता घट्दै गएको देखाउँछ।
सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटेसँगै र बजारमा नयाँ मोडलका फोनहरूको माग बढेको मोबाइल ब्यवसायीहरु बताउँछन्।
नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइलबाट नै धेरै काम गर्न सकिने भएपछि नेपालमा महँगा मोबाइलको माग बढेको बताए। उनले मोबाइलको अवैध आयातलाई भने सरकार कडाइका साथ निगरानी गर्नु पर्नेमा जोड दिए।



