काठमाडौँ। सरकारले पठाएको अध्यादेशका बारेमा राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्दै छन्।
सरकारले बैशाख १४ गते र १५ गते गरेर पाँच अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। सत्तारूढ दलका केही सांसदसहित विपक्षी दलहरूले सरकारले संसद छलेर अध्यादेशको बाटोबाट अघि बढेको भन्दै विरोध गरिरहेका छन्। विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष मागसमेत गरेका छन्।
राष्ट्रपतिले भने अध्यादेश बारे परामर्श गरेरै अघि बढ्ने तयारी गरेका हुन्। राष्ट्रपतिले आज अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन भएको छैन।
सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।



