चितवन। नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश कुमार घिमिरेले सरकाले लागू गर्न लागेको विक्री गरिने वस्तुमा अधिकतम खुद्रा मुल्य (एमआरपी) को विषयले ब्यवसायीहरु समस्यामा परेको बताएका छन्।
नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभालाई चितवनको सौराहामा सम्बोधन गर्दै घिमिरेले वर्षौंदेखि विक्री नभएका र स्टक रहेका सामानहरुको स्टक १५ दिनमा नै सकाउन वा फिर्ता गर्न सम्भव नभएको भन्दै उनले थप समय दिन सरकारसँग आग्रह गरे।
`रिटेल ब्यवसायीले वस्तुको मुल्य राख्ने होइन, आयातकर्ता र उत्पादन कर्ताले मूल्य तोकेर दिनु पर्छ, अधिकतम खुद्रा मूल्य तोकेर दिइयोस हामी कार्यान्वयन गर्छौं, तर विगतमा स्टक रहेका नबिकेका सामान १५ दिनमा नै बेच भनेर सकिंदैन, फिर्ता पठाउन पनि सम्भव छैन, सरकारले पर्याप्त दिएर समय बढाओस हामी सरकारको एमआरपीको निर्णय मान्छौं।´ घिमिरेले भने।
मोबाइल ब्यवसायीहरुले मोबाइल कम्पनीहरुबाटसमेत पछिल्लो समय असहयोग भोग्दै आइरहेको तर्फ पनि घिमिरेले असन्तुष्टि जनाए।
उनले किस्ताबन्दीमा मोबाइल विक्री गर्दा सो को मूल्य वापतको किस्ता उपभोक्ताले समयमा नतिर्दा खुद्रा ब्यवसायीहरु समस्यामा पर्न थालेको गुनासो गरे।
`ब्यवसायीहरुले मोबाइल कम्पनीहरुबाट पनि पछिल्लो समय असहयोग भोग्दै आइरहेका छन्, किस्ताबन्दीमा मोबाइल विक्री गर्दा सो को मूल्य वापतको किस्ता उपभोक्ताले समयमा नतिर्दा खुद्रा कम्पनीले ब्यवसायीहरुलाई ब्ल्याक लिस्टमा पार्न थालेका छन, ईएमआइको पेमेन्टसँग ब्यवसायीलाई सरोकार नै हुंदैन, कम्पनीले सबै भेरिफिकेसन गरेर अप्रुभ गरेपछि हामीले दिने हो, हामी ब्यवसायी सबै जिम्मेवारी लिन सक्दैनौं।´ घिमिरेले भने।



