काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन स्थानका सुकुम्बासी वस्ती खाली गराउन बिहीबारदेखि नै प्रक्रिया अघि बढाएको छ। स्थानीय प्रशासनमार्फत सुकुम्बासी वस्ती खाली गराउन माइकिङ पनि जारी छ। केही सुकुम्बासीहरु डोजर चल्ने डरले सामान सार्न सुरु गरिसकेका छन् भने केही अझै आशा बोकेर कुरिरहेका छन्।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले आदेश मान्ने काम गरिरहेको छ। काठमाडौं महानगरपालिकाले पनि यसमा सहजीकरण गरिरहेको छ। तर थापाथलीस्थित सुकुम्बासीहरू भने अन्योलमा देखिएका छन्। उनीहरू केही आफ्ना टहराका सामान सार्न सवारी खोज्दै छन् भने केहीमा सामान कहाँ लाने भन्ने अन्योल छ। केही अझै पनि सरकारले डोजर पठाउने भन्दा न्याय देला कि भन्ने आशमा छन्।
यही अन्योलताका बिचमा एउटा नारा लेखिएको कागज देखिन्छ, जहाँ लेखिएको छ, `डोजर होइन, न्याय चाहिन्छ।´
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार वैशाख १२ गते शनिबार बिहानदेखि काठमाडौँका तीन स्थानको सुकुमबासी बस्तीमा डोजर लगाएर टहरा भत्काइँदै छ।
जिल्ला सुरक्षा समितिको बैठकमा बिहीबार भएको निर्णय अनुसार पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटी स्थित मनहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गरिएको थियो। ती स्थानमा शनिबार बिहान ६ बजेबाट डोजर चलाइने भनिएको छ।
काठमाडौँ महानगर, प्रहरी र सशस्त्रका सुरक्षा अधिकारीहरूले उपत्यकाको तीनै स्थानमा अवैध तरिकाले बनाइएका घर र टहरा खाली गर्न माइकिङ सुरु गरिसकेका छन्। माइकिङमा वैशाख ११ गते साँझ ७ बजेभित्र घर, टहराहरू खाली गर्न भनिएको छ।
यसैगरी घर, टहरामा भएका सामान र चौपाया तत्काल सार्न र अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरा र वृद्ध वृद्धालाई प्राथमिकता दिएर सार्न स्थानीय प्रशासनले माइकिङमार्फत आग्रह गरिरहेको छ। स्थानीयहरु भने आज बिहानैदेखि दौडधुपमा देखिन्छन्।



