काठमाडौँ। ट्राफिक प्रहरीले मंगलबार एकैदिन काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ९८ वटा सवारी साधनका चालकलाई कारवाही गरेको छ।
ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सप्राइज चेकिङका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना, रातो बत्ति उल्लंघन गर्ने, लेन अनुशासन कायम नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९१ वटा गरी कुल ८८ सवारी साधनका चालकहरूलाई कारवाही गरिएको हो।
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो। यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्ने ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैले, सवारी साधन प्रयोग गर्दा चालकको अवस्थाप्रति सजग रहन पनि ट्राफिक प्रहरीले सचेत गराएको छ। चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।



