मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्वविद्याल र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्री, केके भयो छलफल?

विश्वविद्याल र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्री, केके भयो छलफल?

images
२०८३ बैशाख ७ गते, सोमवार
२०८३ बैशाख ७ गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार ११ वटा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भेट गरे।

    images

    करिब साँढे तीन घन्टा भएको सो छलफलका क्रममा प्रधानमन्त्री शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउनेदेखि विद्यार्थीले दिएको परीक्षाको नतिजा एक महिना भित्र दिने गरि तयारी गर्न उपकुलपतिहरुलाई निर्देशन दिए।

    images

    प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरू राजनीतिक अखडा हुन नहुने भन्दै आफू कुनैपनि हालतमा दलीय विद्यार्थीका संगठन र कर्मचारी सङ्गठनका संरचनाहरू हटाउने पक्षमा रहेको स्पष्ट सन्देश यो छलफलमार्फत दिएका छन्। छलफलका क्रममा उनले जनताले परिवर्तन खोजेको कुरालाई मनन गर्न पनि सबैलाई आग्रह गरेका थिए।

    प्रधानमन्त्री शाहको सो निर्देशनपछि केही उपकुलपतिहरुले जेन-जी आन्दोलन र प्रतिनिधि सभाको निर्वाचनपछि विद्यार्थी राजनीति सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको सुनाए। 

    उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए।

    छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनहरू हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरे।

    जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए।

    प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे।

    छलफलमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनहरू खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेको बताए। सो छलफलमा स्वास्थ्य मन्त्री निशा मेहता पनि सहभागी थिइन्।

    छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले नयाँ सरकार गठनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको सुनाए।

    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताए।

    अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend