काभ्रेपलान्चोक। शनिबार राति आएको सामान्य बाढीले डाइभर्सन बगाउँदा अबरुद्ध भएको बीपी राजमार्ग आइतबार दिउसोदेखि एकतर्फी संचालनमा आएको छ।
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्न सबै सवारी चालकहरूमा अनुरोध गरिएको बताए। यस्तै बाटोको अवस्थाबारे थप जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
बीपी राजमार्ग अन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोलाले डाइभर्सन बगाएको थियो। सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बेलाबेला बाढीले बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट उक्त मार्ग हुँदै पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनहरू प्रभावित हुँदै आइरहेका छन्।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको छ। यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।



