काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको नभइ अद्यावधिक गर्न लागेको बताएका छन्।
महामन्त्री पौडेलले आफुलाई धेरैबाट सो प्रश्न आएको भन्दै सामाजिक संजाल फेसबुक मार्फत सो बारे स्पष्ट पारेका हुन्।
उनले लेखेका छन, `नेपाली कांग्रेसका क्रियाशील तथा शुभेच्छुक साथीहरु! नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु - हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ।´
उनले अब अद्यावधिक हुने क्रियाशीलले कांग्रेसलाई गाउँगाउँमा जोड्ने पनि उल्लेख गरेका छन्।
`अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।´ पौडेलले लेखेका छन्।
महामन्त्री पौडेलले क्रियाशील सदस्यताका सवालमा विगतमा देखिएका त्रुटी हटाउन यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिएर अद्यावधिक प्रक्रिया अघि बढाउँदै गरेको पनि जानकारी गराएका छन्।
`विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं। विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ।` उनले लेखेका छन्।
पौडेलले भोलिबाट नै सम्पूर्ण क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन पनि अनुरोध गरेका छन्।



