मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आर्थिक क्रियाकलापको विकास र विस्तार नै समृद्धिको मूल आधार : राष्ट्रपति

आर्थिक क्रियाकलापको विकास र विस्तार नै समृद्धिको मूल आधार : राष्ट्रपति

images
२०८२ चैत्र २७ गते, शुक्रवार
२०८२ चैत्र २७ गते, शुक्रवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले व्यापारव्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै आर्थिक समृद्धिको मूल आधार भएको बताएका छन्।

    images

    राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समुद्धितर्फ जुटनसमेत सबैलाई आव्हान गरे।

    images

    “मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले जननिर्वाचित संसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्न एउटा गहन दायित्व सुम्पेको छ, राज्यको यो दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यतिकै भूमिका हुन्छ, त्यस्तै, नीजि क्षेत्रलाई विकासको यो अभियानमा साथमा लिएर सरकारले अघि बढ्न  जरुरी छ भन्ने म ठान्दछु”, उनले भने।

    राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार रहेको भन्दै उनले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताए।

    “आजको युवा पुस्ता देशको भविष्य हो, उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौं, उद्यमशीलता, प्रविधि र सिर्जनशीलताको माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने।

    हामी सबैले मिलेर स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणालीको निर्माणमा ध्यान दिनु आवश्यक रहेको उनको भनाई थियो। साथै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उनले जोड दिए।

    “आजको विश्व प्रतिस्पर्धात्मक अर्थतन्त्रको युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णयहरू आवश्यक छन्, डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने।

    निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको उनको भनाई थियो।

    “हामीले भुल्न नहुने एउटा महत्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ, निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ, निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इञ्जिन हो भन्ने म ठान्दछु”, उनले भने।

    मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो यस संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय रहेको उनले बताए।

    “कोभिड महामारीको प्रभाव, आपूर्ति श्रृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्रलाई प्रभाव पारेको अवस्थामा निजी क्षेत्र र सरकारबीचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ”, राष्ट्रपति पौडेलले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend