काठमाडौँ। विश्व बजारमा इन्धनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको भन्दै सरकारले `वर्क फर्म होम´ को नीति लिएको छ।
युद्धका कारण इन्धन सङ्कट चुलिएको र त्यसको असर नेपालमा पनि परेको भन्दै सरकारले मन्त्रीपरिषद बैठकमार्फत इन्धन खपतका लागि सकेसम्म घरबाटै काम गर्न आम सर्वसाधारणमा आग्रह गरेको हो। मन्त्रीपरिषद बैठक आज मंगलबारसमेत बसेको थियो।
युद्धका कारण अहिले विश्व बजारमा इन्धनको मूल्यवृद्धि आकाशिएको छ।
मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गर्नेनिर्णय भएको जानकारी दिइन्।
नेपालमा केही सस्तोमा बिक्री गर्नका लागि पेट्रोल डिजेल मट्टीतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उले जानकारी दिइन्।
‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ, नेपालमा केही सस्तोमा बिक्री गर्नका लागि पेट्रोल डिजेल मट्टीतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ। मूल्य समायोजनको बाध्यता छ। सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ। पेटोलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक संस्था वैशाख १५ बाट सुरु हुने, थोक बिक्री नियन्त्रण, उच्चपदस्थको इन्धन कोटा कटौती, गरिसकिएको छ। आवश्यक परे जोर विजोर लागु गरिने छ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनहरूको प्रयोग बढाउन आग्रह गर्छ।’
मन्त्री रावलका अनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय गाडीको कानुनी व्यवस्थापन अघि बढेको छ। यसका लागि इथानोल नीतिमा तयारी भइरहेको बताइन्। इभी पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउँदै रावलले सरकार पारदर्शी रहेको र सत्य नलुकाउने, जनताको पीडा बुझ्ने समेत बताइन्।



