काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र डिजेलको मूल्य फेरी बढाएको छ।
निगमले बिहीबार एक सूचना जारी गर्दै आजै राति १२ बजेपछि देखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले बढाइएको जनाएको हो।
अब काठमाडौंमा पेट्रोल प्रति लिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टीतेल १८२ रुपैयाँ पर्ने छ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ। ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको निगमले भनेको छ।
निगमद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएको नयाँ खरिद मूल्यअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ।
पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमले जनाएको छ। सोही कारण इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्लो पटक प्राप्त खरिद मूल्य निकै बढेर आएको निगमले भनेको छ।



