काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ। आज ११ बजेबाट बैठक सुरु हुँदैछ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेश भएको छ। सोही प्रस्ताव उपर आजको बैठकमा छलफल हुने कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। बैठक मंगलबारबाट सुरु भएको हो।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ।
यस्तै, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भइरहेको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।



