काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको छ।
नेपाली कांग्रेसले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री प्रदीप पौडेलले राखेको ११ वटा प्रस्तावमा महाधिवेशन सम्बन्धि सो प्रस्तावसमेत समावेश छ।
पार्टीको केन्द्रीय समितिमा पेश भएको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावित कार्यतालिकाअनुसार देशैभरका ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन गरिने उल्लेख छ।
यसैगरी साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने प्रस्तावमा भनिएको छ।
साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति प्रस्तावित छ।
यसैगरी जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गतेका लागि प्रस्ताव गरिएको छ।
यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ।



