काठमाडौँ। नेपाली कांग्रेसले २०८२ भाद्र २३ र २४ गते भएको जेन-जी प्रदर्शनका घटना बारे न्यायिक जाँचवुझ आयोगले सरकारलाई बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग्गरेको छ।
आइतबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठक मार्फत कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गरेको हो।
आयोगले गत फागुन २४ गते प्रधानमन्त्री शुशिला कार्कीलाई सो प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारले सो प्रतिवेदन मन्त्रीपरिषदबाट ग्रहण गर्दै गुपचुप राखेको छ।
प्रतिवेदन बुझाउँदा नै आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताएका थिए। तर सरकारले भने प्रतिवेदन सार्वजनिक नगरी कार्यान्वयन गरिने बताउँदै आएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले सोमबार सामाजिक संजालमार्फत सरकारले प्रतिवेदन सार्वजनिक नगर्नुले अनेक आशंका र उपशंका जन्माएको बताएका छन्।
`भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ।´ पौडेलले लेखेका छन्।
पौडेलले प्रश्न गर्दै भनेका छन्, `कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन? यक्ष प्रश्न खडा भएको छ।´
`अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो।´ उनले भनेका छन्।
उनले जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका हुन्।



