काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगन कुमार थापाको राजीनामा सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको छ।
कांग्रेस बैठकले विभिन्न आठ आधार देखाउँदै सभापति थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।
सभापति थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम राजीनामा पेश गरेका थिए।
तर उनको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो।
यी हुन् सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसका आठ आधार
• निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
• वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
• राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
• राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
• सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
• विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
• पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
• केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ६ देखि ८ गतेसम्म केन्द्रीय कार्यालय सानेपामा जारी थियो। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा शर्माद्वारा प्रस्तुत विषयमाथि ८८ जना सदस्य तथा पदाधिकारिहरूले आफ्नो धारणा राखेका थिए।



