काठमाडौं। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले सरकारलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
शुक्रबारबाट सुरु भएको प्रदर्शनकाे दाेस्राे दिन आज उनीहरुले `गुपचुप खेल बन्द गर, सत्य बाेल्ने आँट गर, जेन-जी आन्दोलन खाेलामा, प्रतिवेदन झाेलामा´ जस्ता नाराबाजी गरेका छन्।

सो प्रतिवेदन आयोगले गत फागुन २४ गते प्रधानमन्त्री शुशिला कार्कीलाई बुझाएको थियो। त्यसपछि सरकारले सो प्रतिवेदन मन्त्रीपरिषदबाट ग्रहण गर्दै गुपचुप राखेको छ।
पूर्व न्यायाधीश गाैरीवहादुर कार्कीकाे संयोजकत्वमा आयाेग गठन गरिएको थियाे।
प्रतिवेदन बुझाउँदा नै आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताएका थिए। तर सरकारले भने प्रतिवेदन सार्वजनिक नगरी कार्यान्वयन गरिने बताउँदै आएको छ।
जाँचबुझका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित तत्कालीन सुरक्षा निकायका प्रमुखसहितलाई कारबाहीका लागी सिफारिस गरिएको बुझिएको छ।
सो आयोगमा पूर्वन्यायाधीश कार्कीसहित पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य तोकिएका थिए।
आयोगले करिव ६ महिना लगाएर अध्ययन गरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। जेन-जी आन्दोलनका क्रममा ७७ जनाको ज्यान गएको थियो भने करिव ८७ अर्बको सम्पत्ति नष्ट भएको सरकारले यसअघि नै जनाइसकेको छ।



