काठमाडौँ। नेपाल प्रहरीको गस्ती टोलीले प्रतिबन्धित लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको छ।
यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक जना तथा नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना र पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको जनाइएको छ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



